यस्तो छ निर्वाचन आयोगको नयाँ आचार संहिता

चुनाबमा जसले पोष्टर टाँस्छ, उसैले हटाउनुपर्ने

यस्तो छ निर्वाचन आयोगको नयाँ आचार संहिता


nepal-election-commission२७ असार, काठमाडौं । अब हुने संविधानसभा चुनावमा अनर्गल भाषणबाजी र आपसी अविश्वास बढ्न नदिन निर्वाचन आयोगले नयाँ आचारसंहिता ल्याएको छ । आयोगले साउनको पहिलो हप्तादेखि लागू गर्ने आचारसंहितामा भाषण, वक्तव्य र अन्य यस्तै कुरामा शिष्ट र मर्यादित भाषा प्रयोग गर्नुपर्ने उल्लेख छ । चुनावी प्रचारमा ख्याल गर्नुपर्ने विषयहरु यस्ता छन् :
· नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनतामा निहित राजकीय सत्ता प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारणा प्रतिकूल हुने गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउनु हुदैन ।
· कुनै धर्म, सम्प्रदाय, जात जाति, लिङ्ग, भाषा, समुदाय वा प्रादेशिकताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउन हुँदैन ।
· कुनै राजनीतिक दल वा उम्मेदवारको आलोचना गर्दा त्यस्तो दल वा उम्मेदवारको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको काममा मात्र सीमित रही गर्नु पर्नेछ । उम्मेदवार, राजनीतिक दलको नेता वा कार्यकर्ताको सार्वजनिक कामसँग सम्वन्धित नभएको निजी जीवनको कुनैपनि कुराको आलोचना गर्नु हुँदैन ।
· लैङ्गकि हिंसा लगायत अन्य हिंसाजन्य कार्य गर्न र त्यस्तो कार्य गर्न कसैलाई उक्साउनु हुँदैन ।
· प्रचलित कानूनबमोजिम निर्वाचनसम्वन्धी कसूर मानिनेे कार्य गर्न वा गराउन र त्यस्तो कसुर गर्न कसैलाई उक्साउनु हुँदैन ।
जथाभावी भित्तेलेख गर्न नपाईने
निर्वाचनको बेला हुने जथाभावी भित्तेलेखन र तुल ब्यानरको प्रयोग रोक्न पनि आयोगले आचारसंहिता तोकेको छ । भित्तेलेखन र तुल ब्यानर सम्बन्धी नियम यस्तो छ :
· धार्मिक, पुरातात्विक वा ऐतिहासिक भवन, स्मारकस्थल वा सरकारी वा सार्वजनिक भवन र शैक्षिक संस्थाको भित्ता वा पर्खालमा कुनै पनि किसिमको पर्चा टाँस्न हुँदैन ।
· कसैको निजी घर कम्पाउण्ड, पसल, पर्खाल वा यस्तै अन्य स्थानहरुमा घरधनीको स्वीकृति नलिई कुनै पनि किसिमको पर्चा टाँस्न हुँदैन ।
· भित्ते लेखन गर्न, तुल, व्यानर प्रयोग गर्न वा गराउन हुँदैन ।
· शान्तिपूर्ण र बाधा अबरोधरहित मानवीय जीवन जीउन पाउने प्रत्येक व्यक्तिको अधिकारलाई सम्मान गर्नु पर्नेछÙ कुनै व्यक्तिको विचारको विरोध गर्दा निजको घर अगाडि विरोध गर्न र प्रदर्शन गर्न हुँदैन ।
· निर्वाचन प्रचार-प्रसारको प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा कूल क्षेत्रफल तीन सय बर्ग इञ्चसम्मको आकारको पर्चा मात्र प्रयोग गर्नु पर्नेछ । त्यस्तो पर्चा छपाउँदा एक रङमा मात्र छपाउनु पर्नेछ र प्रत्येक पर्चामा पर्चा मुद्रक र पर्चा छपाउने राजनीतिक दल वा उम्मेदवार समेतको नाम र ठेगाना उल्लेख गर्नु पर्नेछ ।
· कुनै राजनीतिक दल वा उम्मेदवारले टाँस गरेको वा त्यस्तो दल वा उम्मेदवारको तर्फबाट टाँस भएको पर्चा वा निर्वाचन चिन्हलाई केरमेट गर्न, उप्काउन, च्यात्न वा त्यसमाथि आफ्नो पर्चा टाँस्न वा टाँस्न लगाउन हुँदैन ।
· आफूले टाँसेको पर्चा सम्वन्धित निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको साठी दिनभित्र उप्काई वा हटाई पर्चा टाँसेको स्थान सफा गर्नु पर्नेछ ।
जुलुस तथा आमसभा सम्वन्धी आचरण :
· जुलुस, र्‍याली, आमसभा, वैठक वा भेला गर्दा वा गराउँदा स्थानीय प्रशासन र प्रहरीलाई सुरक्षा प्रबन्ध गर्न सोको समय, मिति, मार्ग, रुट र स्थानका बारेमा स्थानीय प्रशासन र प्रहरीलाई कम्तीमा चौबीस घण्टा अगावै जानकारी गराएर मात्र गर्नु पर्नेछ । त्यसरी तय भई सकेको मार्ग स्थानीय प्रशासन र प्रहरीको अनुमतिबिना फेरबदल गर्न सकिने छैन ।
· दुई वा दुईभन्दा बढी राजनीतिक दल वा उम्मेदवारहरुले एउटै समय, स्थान र मार्गमा जुलुस, र्‍याली, आमसभा, वैठक वा भेला गर्दा स्थानीय प्रशासनले दिएको अनुमति अनुसार मात्र आयोजना गर्नु पर्नेछ ।
· नेपाल सरकार वा स्थानीय प्रशासनले सार्वजनिक सुरक्षा र हितका लागि प्रचलित कानूनबमोजिम निषेध गरेको समय र स्थानमा कुनैपनि जुलुस, र्‍याली, आमसभा, वैठक, भेला वा प्रचार-प्रसारको कार्यक्रमको आयोजना गर्नु वा गराउनु हुँदैन ।
· सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा गर्नु वा गराउनु हुँदैन ।
· मसाल जुलुस र हातहतियारसहितको जुलुस निकाल्नु हुँदैन ।
· जुलुस, र्‍याली, वा आमसभामा भाग लिने व्यक्तिहरुले आफनो हातमा १०”×१८” को आकारसम्मको झण्डा लिन सक्नेछन् । तर निर्वाचन प्रचार-प्रसारको लागि प्रयोग गरिने सवारी साधनमा वा आमसभास्थलमा सोभन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न बाधा पुगेको मानिने छैन ।
· हात हतियार वा विष्फोटक पदार्थ लिएर हिंड्न वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी जस्ता धारिलो तथा जोखिमी प्रकृतिका हातहतियारको प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन हुँदैन ।
· अरु राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, र्‍याली, आमसभा, वैठक वा भेला विथोल्न वा त्यस्तो जुलुस, र्‍याली, आमसभा, वैठक वा भेलालाई कुनै प्रकारको बाधा अवरोध पुर्‍याउनु हुँदैन ।
· जुलस, र्‍याली, आमसभा वा भेला जस्ता प्रचार-प्रसारका कार्यक्रम बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्नु पर्नेछ ।
· बालवालिकालाई जुलुस, र्‍याली, आमसभा, वैठक वा भेलामा सहभागी गराउन तथा निर्वाचन प्रचार-प्रसार र निर्वाचनसँग सम्वन्धित अन्य कुनैपनि काम वा गतिविधिमा प्रयोग गर्न र गराउन हुँदैन ।
· विद्यालय र विद्यालय हाताभित्र आमसभा, माइकिङ्ग लगायत निर्वाचन प्रचारका काम गर्नु हुँदैन ।
विकट जिल्लामा जहाज र हेलिकप्टर चार्टर गर्न पाइने
आयोगले शुरुमा कुनै पनि ठाउँमा चुनाव प्रचार गर्दा जहाल र हेलिकप्टर चार्टर गर्न नपाइने आचार संहिता बनाउन खोजेपनि माओवादी असन्तुष्ट भएपनि यसलाई केही खुकुलो बनाइएको छ । जुन व्वयस्था यस्तो छ :
· हवाईजहाज तथा हेलिकप्टर जस्ता सवारी साधन चार्टर गरी निर्वाचन प्रचार-प्रसार गर्नु वा गराउनु हुँदैन । तर सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोट जिल्लाको हकमा यो दफा लागू हुनेछैन ।
· नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, स्थानीय निकाय र परियोजनाका सवारी साधन प्रयोग गर्नु वा गराउनु हुँदैन ।
· उम्मेदवारले निर्वाचन प्रचार-प्रसारका लागि एक निर्वाचन क्षेत्रमा वढीमा दुईवटा हलुका सवारी साधन प्रयोग गर्न सक्नेछ । त्यस्ता सवारी साधन नचल्ने निर्वाचन क्षेत्रमा वढीमा चार वटा घोडा प्रयोग गर्न सक्नेछ । तर एउटा उम्मेदवारले प्रयोग गरेको सवारी साधन अर्को कुनै पनि उम्मेदवार वा राजनीतिक दलले कुनै पनि प्रकारले प्रयोग गर्न हुदैन ।
· राजनीतिक दलले निर्वाचन प्रचारका लागि एउटा जिल्लामा वढीमा दुई वटा हलुका सवारी साधन प्रयोग गर्न सक्नेछ । तर एउटा राजनीतिक दलले प्रयोग गरेको सवारी साधन अर्को कुनै पनि राजनीतिक दल वा उम्मेदवारले कुनै पनि प्रकारले प्रयोग गर्न हुदैन ।
· मतदानको दिन मतदातालाईर्र् हवाईजहाज, हेलिकप्टर, बस, ट्रक, जीप, मोटरसाईकल र अन्य कुनै पनि सवारी साधनबाट ओसार-पसार गर्नु र गराउनु हुँदैन । तर हिंडडुल गर्न नसक्ने अशक्त मतदाताले आयोग वा सम्वन्धित निर्वाचन अधिकृत वा मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सक्नेछ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day