रामग्रामः एक चिनारी






              कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको लुम्बिनी र नवलपरासीको कोलिग्राम प्राचिन बौद्ध साहित्यमा भगवान बुद्धको प्रसंगलाई लिएर बारम्बार चर्चामा आउने गरेको धार्मिक स्थल हो । यिनमा रहेका बिहार, स्तुप, चैत्य, तलाउ, पोखरी र नदीहरुको वर्णन पनि त्यहा गरिएको छ ।
              भगवान गौतम बुद्धको ईतिहाससंग जोडिनुको पछाडि महत्वपुर्ण कारण तत्वहरु अहिलेपनि विद्यमान छन् । तुलनात्मक रुपमा पछाडि परेको नवलपरासीको कोलिग्राम अर्थात रामग्राम स्तुपको धार्मिक तथा सांस्कृतिक महत्वका साथै स्थानीयवासीन्दा यसका मूल्य र मान्यतासंग अगाध प्रेम राखेको पाईन्छ ।
नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि चार किलोमिटर दक्षिण पुर्वमा झरही खोलाको तिरमा अवस्थित छ, कोलिग्राम अर्थात रामग्राम स्तुप ।
उत्तरपटि बाझो चौर र आवादी खेतको बीचमा रामग्रामका स्तुपको अवशेष भनिने एउटा ढिस्को छ । यही ढिस्को मुख्य पहिचान हो । त्यही उम्रेको छ एउटा रुख । ढिस्को फलामे काडेतारले सुरक्षार्थ घेरिएको छ । केही समान्य उत्खनन भई अनुसन्धानका लागि पुनः जमिनमूनि पुरिएको छ । केही प्रमाणिक अवशेष पनि फेला परेको छ, जुन पुष्टि हुने बलियो आधार बनेको छ । यहां घरवस्ती अलि पर परै छन् । नजिकमा मानिसको कुनै आवादी छैन । नजिकैको खोलो पहिले यस ढिस्कोको पश्चिमबाट बग्दै थियो । ढिस्कोलाई खतरा देखिएपछि माटोको हलुका तटबन्ध लगाई त्यो खोलो सोभ्mयाएर पुर्वतिरबाट बग्ने बनाईएको छ । तर पुर्व र उत्तरतर्फ रहेका समथर जग्गामा स्थानीय किसान निर्वाध रुपमा खेती गरेका छन् ।
स्तुपको जमीनमुनि रहेको अवशेषलाई जोखिम हुने बताईए पनि नियन्त्रण गर्न नसकिएको अवस्था छ । खेत खाली रहदा पशुचौपायहरु घास चरनका लागि यस क्षेत्रमा देख्न सकिन्छ । दक्षिणतर्फ रहेको खाली पर्ति जग्गा माटो खन्ने क्षेत्र (मटिखन्ना) बनेको छ । छिमेकी गाउलेलाई आवश्यक परेको माटो खनेर यसै ठाउबाट टेक्टर टाली र बयलगाडामा लगिन्छ । यो चुनौती बनेको छ, रामग्राम स्तुपमा विकास र पहिचान प्रवर्धन गर्ने उद्धेश्यले यहा काम गर्ने सरकारी गैरसरकारी संघसंस्थाहरुका लागि । जमिन मूनि रहेको अवशेष संरक्षणका लागि पनि ।
विगतमा पनि यस स्तुपको संरक्षण भएन भनी चिनिया यात्री ह्युमेन साङ्गको पुस्तकले पनि सावित गर्दछ । तिनले ६६ हात अग्लो भनी चर्चा गरेका त्यो स्तुप हाल १०,१२ हातको उचाईको ढिस्कोमा परिणत हुन पुगेको छ । न त स्तुप भनेर भ्रमण गर्न आउने पर्यटकको यहा चाप देखिन्छ न त धार्मिक यात्रुको बाक्लो उपस्तिथी नै । स्थानीयवासीन्दा पनि उदासिन देखिन्छन् । यहा लगाईएका तारबार, चापाकल, लगायत अन्य संरचना पनि असुरक्षित रहेको चौकिदारको अनुभव छ ।
यहा आउने यात्रुका लागि सुरक्षित र सुविधाजनक आश्रय स्थल होटल वा अन्य कुनै धर्मशाला पनि छैन । बनाउनका लागि आएका विदेशी र स्वदेशी व्यावसायीले छरछिमेकमा जग्गा पाउन नसकेको गुनासोले पनि स्थानीयवासीन्दालाई छुन सकेको छैन । वरपर उजैनी, देउरवा र चन्दरगढिया गाउ रहेका छन् । समान्य अवस्थाका यहाका वासीन्दाको मूख्य पेशा भने कृषि हो । भारतीय सीमाना यहाबाट दक्षिणतर्फ ८ किलोमिटरको दूरीमा छ ।
यस स्तुपको बारेमा स्थानीयवासीन्दाको फरक मत पाईन्छ । यहा भगवान गौत्तम बुद्धको अस्थि रहेको कुरा सुनेको र पछिल्लो अवस्थामा विश्वास गर्न थालेको भएपनि यसलाई राजा विरबठवाको गढ हो भनी पुरानो मान्यतालाई मान्ने अझै पनि यहा धेरै छन् ।
वर्षेनी दुई पटक पुजा दिन ढिलाई गरेमा स्थानीयक्षेत्रका खेतमा लगाईएको बालीनाली रातीमा अज्ञात पशुहरुद्धारा खाईदिएर नष्ट गरिदिने घटनाले आजित भएर पुजा दिदै आएको परम्परा यथावत नै छ यहा । दैवी शक्ति छ भन्ने विश्वासले यस ढिस्कोलाई आदर र सम्मानका साथ आज पनि हेरिने गरिन्छ ।
 यस स्तुपमा जंगली हाती आएर फुल र जल चढाउछन र नागहरुले यसको सुरक्षा गर्छन भनी किम्वदन्ती छ ।
सुविधाको कुरो गर्ने हो भने, चिनिया यात्री हयुमेन साङ्ग आउदा पनि यात्रुलाई आश्रयका लागि यहा कुनै सुविधा त थिएन र आज पनि छैन । तर त्यसबेला भिक्षुहरु बस्ने बिहार हुदा भिक्षु संघ थियो  र यात्रुवर्गको पनि आवतजावत थियो भनी उल्लेख गरेका छन् ।
रामग्राम स्तुपको निर्माण कसरी भयो यो चाही प्रासंगिक र रोचक पनि छ । भगवान बुद्धले ४५ वर्षसम्म घुमी घुमी भारतमा धर्मको प्रचार गरे, भिक्षु संघको स्थापना गरे । ८० वर्षको आयुमा वैशालीमा आईपुगे । लिच्छविहरुलाई अन्तिम दर्शन दिएर आफना सहधर्मीहरुकासाथ मल्ल नगरी पावा कुशीनगरतिर हिडे । पावामा चुन्द कुमार पुत्रको निम्तामा उनको घरमा भोज गर्न गए ।
त्यहा शुकरमार्दव भन्ने गरिष्ठ भोजन गर्दा उनलाई अतिसार भयो । पेट दुखेर मर्मान्त हुदाहुदै उनी कुशीनगरतिर लागे । कुशिनगरको मल्लको साल वनमा पुगेर प्रिय शिष्य आनन्द कौशल्यायेन र भिक्षु संघलाई उपदेश दिदै सालवृक्षका फेदमा सुतेका भगवान परिनिर्वाण प्राप्त भए ।
कुशीनगरका साराका सारा मल्लहरु बुद्धको शरीरलाई अनेक फुलमालाले सजाएर नाचगान गर्दै ७ दिनपछि बोकेर घाटमा पुर्याए । घिउ, तेल, कपडा, रुवामा बेरेको लासमा महाकश्यपले दागबत्ती दिए । त्यसपछि अस्थि बटुलेर मल्लहरुको संस्थागारमा ल्याएर एक हप्तासम्म सुरक्षा साथ फुलमालाले सजाएर धुपबत्ती गरेर राखियो । बुद्ध निर्वाणको खबर सुनेर चारैतिरबाट उनको अस्थिको माग भयो । यो माग हुनुको पछाडि, अस्थिधातु कलशमा राखेर विशाल स्तुपको निर्माण गर्ने परम्परा नै मुल कारण थियो ।
अस्थि बाडने बेलामा कुशिनगरका मल्ललाई नदिने कुरा उठदा विवाद बढला जस्तो भयो र मल्लका पुरोहित द्रोण ब्रामहणले कुरा मिलाएर एउटा तुम्बामा भरेर अस्थि ८ भाग लगाए ।
पहिलो मगधका राजा अजात शत्रुलाई, दोश्रो बैशालीका लिच्छविलाई, तेश्रो कपिलवस्तुका शाक्यलाई, चौथो अल्लकप्पका बुलीहरुलाई, पाचौ रामग्रामका कोलियहरुलाई, छैठौं बेण्दीप (विष्णुदीप) का ब्राम्हणलाई, सातौं पावाका मल्ललाई र आठौं कुशिनगरका मल्ललाई दिए । यी सबैले उत्सव जात्रा गर्दै आप्mना नगरमा लगेर अस्थिधातु कलश फेदमा राखेर ठुलठुला स्तुप बनाए ।
अस्थि बाडिसकेपछि पिप्लीवनका मौर्यहरु आईपुगेकाले उनको चाहि बुद्धको चिताबाट अंगार लगेर त्यसैमाथि स्तुप खडा गरे । द्रोण ब्राम्हणले त्यही आफुले भर्ने भाडा (तुम्ब) लगेर त्यसैलाई राखेर स्तुप निर्माण गरे । यसरी ८ अस्थिधातु स्तुप, नवौं तुम्ब स्तुप र दशौं अङ्गार स्तुप खडा भए ।
यहांनिर एउटा कुरा के विचारणीय छ भने सात अस्थि चांहि जम्बुद्धिपमा पुजिन्छन् । एउटा चाहि रामग्रामका नागहरुले पुजा गर्छन भनेर महापरिनिर्वाण सुत्रमा रामग्रामको स्तुपलाई छुटै वर्गीकरण गरिएको छ । यसबाट के बुझिन्छ भने महाकश्यपको सुरक्षा हुनुपर्छ भन्ने भनाईले राजा अजातशत्रुले स्तुपबाट अस्थिधातु झिकेर एउटै ठुलो चहाबच्चा (पानी संग्रह गर्न बनाईएको ठुलो भकारी आकारको वस्तु) मा राखेर राजगृहमा विशाल स्तुप बनाउन लगाएका थिए ।
रामग्रामको स्तुप चाहि नागले रक्षा गर्छन् भनेर त्यहांको अस्थि जस्ताको तस्तै थियो, चलाईएको थिएन  । अर्थात कुनै कारणवश अजातशत्रुले यहाको अस्थिकलश झिकेर लान सकेका थिएनन । महापरिनिर्वाण सुत्र सम्पादन हुदा यस कलशलाई नागले पुजिएको र एक दांत देवलोकमा र अर्काे गान्धपुरमा पुजिएको छ भनेर लेखियो । विशेषतः यसै रामग्रामको स्तुपबाट केही अस्थि धातु झिकेर श्रीलंकामा लगेर महाविहारको महाचैत्यमा राखिएको कथा वर्णित छ । श्रीलंकाबाट यही अस्थिधातुको एक भाग नेपालमा ल्याईएको थियो । जुन यसै रामग्राम स्तुपमा रहेको गहिरो जनविश्वास छ ।
यसरी प्राचिनकालदेखि नेपालमा रहेको बौद्ध सम्बद्ध ऐतिहासिक, धार्मिक क्षेत्रहरु समयको अन्तरालमा विस्तारै उजाड हुदै गएर विस्मृतिमा जान थालेका छन् । सौभाग्यले कपिलवस्तु र लुम्बिनी विश्वको आखा परेर पुनरुद्धार हुदैछन् । तर त्यहीको रामग्राम विरान जंगल चौरमा परिणत हुदैछ ।
 यिनको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके पावा, कुशिनगर, बैशाली, सारनाथको जस्तै पर्यटक यहा पनि आकृष्ट गर्ने थिए । धार्मिक यात्रुको आवागमन हुने भएर नेपालकै गौरवगाथा बहन गर्ने क्षेत्र बन्ने थियो । यी क्षेत्रलाई सुरक्षित राखेर यहां उत्खनन, अध्ययन, अनुसन्धान चलाउनमा अझै ढिलाई भए ईतिहासले पनि सराप्ने छ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day