सुनका गहना लगाउनेहरू खाली हात फर्कन बाध्य

अमेरिकी चिकित्सकहरुद्वारा सिरहाको लहानमा सञ्चालित बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा सुनका गहना लगाएर शल्यक्रिया गराउन गएका बिरामीलाई फर्काइएको छ । वर्षौंदेखि बिरामी भएपनि उपचार गराउन नसकेका दलित र विपन्नका लागि शिविर सञ्चालन गरिएको भन्दै सुन लगाएका बिरामीलाई फर्काइएको हो । आयोजक समितिका सदस्य राकेश झाकाअनुसार, शिविरमा सुनका गहना लगाएर शल्यक्रिया गराउन आएका २० जना बिरामी शल्यक्रिया नगराई फर्किनुप¥यो । दुवै कान र नाकमा सुनका गहना लगाउनुका साथै रु पाँच हजारभन्दा माथि पर्ने साडी लगाएर शल्यक्रिया गराउन आएकाहरु फर्केर गएको आयोजक समितिका सदस्य झाले बताउनुभयो । उहाँले भन्नुभयो– “शिविर गरिब र विपन्न वर्गका बिरामीको लागिमात्र हो । त्यसैले धनीलाई फर्काउने गरेका छौंँ ।” धनी व्यक्तिहरु रुपैयाँ खर्च गरेर पनि शल्यक्रिया गराउन सकिने उहाँको भनाइ छ । संयुक्त राज्य अमेरिकाको अलोहा मेडिकल मिसन हवाईसँग  आबद्ध ४० जना चिकित्सकको टोली लहानमा आएर बृहत् निःशुल्क शिविर सञ्चालन गरिरहेका छन् । कात्तिक १४ गतेबाट सुरु भएको शिविर १० दिनसम्म चल्नेछ । शिविरमा पाठेघर, हर्निया, पत्थरी, पाइल्स, पित्तथैली, खन्डे ओठ र तालु, आगोले डढेर टाँसिएका अङ्गलगायतको शल्यक्रिया गर्ने गरिएको छ । शिविर सञ्चालन भएदेखि आजसम्ममा दाँतको समेत गरी ४६४ जनाको शल्यक्रिया गरिएको छ भने ११ जनालाई कृत्रिम हात बाँडिएको छ । रासस

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day