‘पात्तिएका’ पण्डित सपार्न परिवारको बिलाप


सत्तचरित्र फलाक्ने गुरु कुबाटोमा लागेको आरोप

२७ कात्तिक, काठमाडौं । श्रीमद्भागवत फलाकेर दुनियाँलाई सत्चरित्र र सत्मार्गमा लाग्न प्रेरित गर्ने पण्डित नै खराब बाटोमा लागेपछि उनका परिवार हैरान भएका छन् । देशबिदेशमा पुगेर पुराण भट्याउने युवा पुराण वाचक पण्डित दीनबन्धु पोखरेल तरुनीको चक्करमा लागेपछि परिवारका सदस्यलाई छटपटी बढाएको हो । लौ पण्डितलाई सपार्नुपर्यो, यसले घरपरिवार बिगार्यो, श्रीमती र छोरीलाई बिचल्ली बनायो, मानसम्मानमा नै आघात पार्यो भनेर उनका परिवार हारगुहार गर्दैछन् ।
साढे तीन वर्षअघि रुपन्देही मुर्गियाकी बिमलासँग बिहाह गरेका पोखरेलकी तीन वर्षकी छोरी समेत छिन् । बिहे गरे लगत्तै श्रीमतीलाई हेलाँ गर्न थालेका उनी परस्त्रीसँग लागेका उनका परिवारका एक सदस्यले अनलाइनखबरलाई बताए । पण्डित पोखरेलले श्रीमती बिमला र छोरी दिविसालाई चितवनको बैरियामा राखेका छन् । छोरी र श्रीमतीलाई चितवनमा थन्क्याएर पण्डित पोखरेल भने तरुनी फेर्दै हिँड्ने गरेको उनकै परिवारको आरोप छ ।
पण्डितका परिवारका अनुसार दीनबन्धुले तनहुँ डुमे्रकी यशोदासँग विवाह गर्ने वाचा गरेका छन् । यशोदासँग मात्रै होइन, काठमाडौं कलंकीकी लक्ष्मी घिमिरेसँग पनि उनको लसपस छ । लक्ष्मीलाई त उनले कलंकीमा घर नै बनाइदिएका छन् । ‘पुराण भन्ने कलाका कारण धेरै युवती उनीप्रति हुरुक्कै हुन्छन्, अनि दीनबन्धु पनि केटी भनेपछि कसैलाई छाड्दैनन्, कतिपटक त हामीले रंगेहात नै फेला पारेका छौं’ अनलाइनखबरसितको कुराकानीमा उनका परिवारका एक सदस्यले भने ।
पुराण भन्ने क्रममा दीनबन्धुले आफ्नो पछाडि तीनजना सुन्दरी युवतीलाई राख्नैपर्ने नियम बनाएका हुन्छन् । तीमध्ये एउटीलाई मन्त्र सिकाउने नाममा बन्द कोठामा लैजाने नियमले चितवन र स्याङ्जामा हल्लीखैली नै मच्चाएको थियो । सबैबाट हाइहाइ कमाएका पण्डितको यो चर्तिकला सार्वजनिक हुन थालेपछि अहिले उनलाई पुराणमा निम्ता आउन पनि कम हुन थालेको छ । ‘पहिले उनलाई भ्याईनभ्याई हुन्थ्यो, अहिले त थोरैले मात्र बोलाउँछन्’ परिवारका एक सदस्यले भने-’बाबु नारायणप्रसाद पोखरेलको प्रतिष्ठालाई समेत उनले आँच आउने काम गरेका छन्, उनी सुधि्रन सकून् भन्ने मात्र हाम्रो कामना हो ।’
आर्थिक मामिलामा पनि उस्तै दाग
दीनबन्धु पनि बाबु नारायणप्रसाद जस्तै पुराण भट्याएर आर्थिक संकलन गर्न खप्पिस छन् । त्यसैले विद्यालय, क्याम्पस, अस्पताल जस्ता भवन निर्माण र सामाजिक कामको लागि उनलाई श्रीमद्भागवतको लागि बोलाईन्छ । श्रीमद्भागवत भट्याएर दीनबन्धुले लाखौं, करोडौं रकम संकलन पनि गरिदिएका छन् । तर उनले दान दक्षिणा दिन बाध्य पार्ने र पारिश्रमिक धेरै लिने गरेको गुनासो छ ।
दीनबन्धुकै टीममा काम गर्ने उनका एकजना नजिकका व्यक्तिका अनुसार पुराण भनेपनि उनले व्यक्तिगत रुपमा ३,४ लाख रुपैंया पारिश्रमिक माग्छन् । भजन टोलीलाई छुट्टै साढे दुईलाख दिनुपर्छ । यसरी रकम जोहो गरेर उनले रुपन्देही मणिग्राममा एककरोड ६५ लाख रुपैंया बराबरको जग्गा खरिद गरेका छन् । चितवन, काठमाडौंका बिभिन्न ठाउँमा पनि उनले घरघडेरी जोडेका छन् ।
‘धर्मको नाममा दीनबन्धुले कुकर्म गरेका छन्, बाबुले कमाएको इज्जतमा समेत दाग लगाउँदैछन्, लौन उनलाई कसरी सुधार्ने’ परिवार बिलौना गर्दै यताउता भौंतारिँदैछन् ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day