के तपाइलाइ थाहा छ ? कहां छ रामग्रामः



नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको १६ जिल्लामध्ये एक हो, नवलपरासी जिल्ला । यस जिल्लाको सदरमुकाम परासी बाजारमा छ । यहाबाट दक्षिणतर्फ चार किलोमिटरको दुरीमा झरही खोलाको तटमा पश्चिमतर्फ अवस्थित छ, रामग्राम स्तुप । सदरमुकाम परासीको नगरीय नाम पनि यसैको धार्मिक नामबाट राखिएको छ । रामग्राम नगरपालिकामा रहेको परासी बाजारबाट दक्षिणतर्फ एक पीच सडक गएको छ, जुन भारतीय सीमासम्म जाने गर्छ । परासीबाट दक्षिणतर्फ यस सडकमा चार किलोमिटर हिडेपछि उजैनी भन्ने गाउमा सडकमै भर्खरै बनेको बुद्ध प्रतिमा (स्तुप) छ । यहाबाट पुर्वतर्फ मोडिनुपर्छ । एक किलोमिटर भित्रै रामग्राम स्तुप रहेको छ ।
काठमाण्डौंबाट २३९ किलोमिटरको दुरीमा रहेको यस स्थानमा पुग्न निजी वा सार्वजनिक जुनसुकै सवारीसाधनबाट आफुले चाहेको जुनसुकै बेला पुग्न सकिन्छ । महेन्द्र राजमार्गले एउटै जिल्लामा ९९ किलोमीटर लामो दुरी तय गरेको जिल्ला एकमात्र नवलपरासी हो । जिल्लाको पुर्वी सीमाना मध्य नेपालको व्यस्त बाजार नारायणगढ नजिकै रहेको नारायणी नदीको पुलबाट पश्चिमतर्फ शुरु हुन्छ । रामग्राम स्तुप नारायणगढबाट झण्डै १०४ किलोमिटरको दुरीमा पश्चिमतर्फ अवस्थित छ ।
नेपालको पुर्वी क्षेत्र पशुपतिनगर, झापा, ईलाम, विराटनगर, जनकपुर, विरगञ्ज र हेटौडा लगायतका क्षेत्रबाट आउने यात्रुहरुलाई नारायणगढ बाजार पुगेपछि रामग्राम स्तुप पुग्न ज्यादै सहज छ । त्यस्तै पोखरा, गोर्खा, मुग्लिंग जस्ता स्थान तथा यसक्षेत्रबाट रामग्राम पुग्न नारायणगढ बाजारको बाटो ज्यादै नै सहज छ । पश्चिमका क्षेत्र महेन्द्रनगर, धनगढी, नेपालगञ्ज, दांगका यात्रु तथा यस क्षेत्रबाट नवलपरासीको रामग्राम पूग्न चाहने यात्रुका लागि पनि महेन्द्र राजमार्ग नै उपयुक्त बाटो हो । यस क्षेत्रबाट रुपन्देहीको बुटवल पुग्नुपर्नेहुन्छ । बुटवलबाट २४ किलोमिटर पुर्वतर्फ राजमार्गमै रहेको नवलपरासीको सुनवलबाट १३ किलोमिटर दक्षिण दिशामा रामग्राम स्तुप पर्दछ । सुनवलबाट ९ किलोमिटरको दुरीमा परासीबाजार र त्यहाबाट मात्र ४ किलोमिटर दक्षिणतर्फ हिडेपछि स्तुपमा पुग्न सकिन्छ । सुनवलबाट प्रत्येक आधाघन्टामा परासीका लागि जीप चल्नेगर्छ । पाल्पा र पश्चिमतर्फबाट बुटवल आईपुगेका यात्रुहरु सुनवलबाट रामग्राम जान पाउनुका साथै बुटवलबाट रुपन्देही कै भैरहवा हुदै पनि जान पाउने राम्रो बाटो छ । यसबाटोबाट पनि उत्तिकै दुरी तय गर्नुपर्ने हुन्छ । पाल्पा र स्याञ्जा जिल्ला वा यस क्षेत्रबाट आउने यात्रुहरु पनि बुटवल पुगेर यहि बाटो जानुपर्नेहुन्छ । बुटवलबाट सुनवल हुदै वा भैरहवा हुदै परासी पुग्न उत्तिकै सुगम छ ।
कपिलवस्तुको तिलौराकोट वा लुम्बिनीबाट रामग्राम स्तुप जान चाहनेहरुका लागि भैरहवाबाट परासी पुग्नुपर्ने हुन्छ । कपिलवस्तुको तिलौराकोट पुगेका यात्रु लुम्बिनी हुदै रामग्राम पुग्न बाटो फेर्नु पर्दैन, हुलाकी बाटो प्रयोग गरी लुम्बिनी र परासी जान पाईन्छ । कपिलवस्तुबाट सोझै पुर्वतर्फ लाग्दा हुलाकी सडकमै रहेको छ लुम्बिनी । लुम्बिनीबाट रामग्राम स्तुप ४५ किलोमिटरको दुरीमा पुर्वतर्फ रहेको छ । लुम्बिनीबाट १६ किलोमिटरको दुरीमा भैरहवा शहर पुगेपछि देवकोटा चोकबाट पुर्वतर्फ सोझै २५ किलोमिटरको दुरीमा रहेको परासी बाजार पुग्न सकिन्छ । र यहांबाट मात्र ४ किलोमिटर दक्षिणमा स्तुप रामग्राम रहेको छ । परासी बाजारबाट नीजी गाडी वा आवश्यक परे रिजर्व गाडीबाट स्तुप पुग्न सकिन्छ ।
त्यस्तै रुपन्देहीको छिमेकी जिल्ला भारतको महाराजगंजमा पर्ने शहर नौतनवा, सुनौलीबाट आउने यात्रुहरुका लागि भैरहवा हुदै जानु उचित हुनेछ । सुनौलीबाट भैरहवा जान चाहनेहरुलाई ४ किलोमिटर र त्यहाबाट १६ किलोमिटरको दुरीमा पश्चिमतर्फ लुम्बिनी पर्दछ भने २९ किलोमिटरको दुरीमा पुर्वतर्फ रामग्राम स्तुप अवस्थित छ । भारतबाट आउने यात्रुहरु सुनौलीमा रामग्राम स्तुप जानका लागि रिजर्व गाडी समेत पाउने सुविधा छ । त्यस्तै रामग्राम स्तुप जान चाहने भारतीय यात्रुहरुका लागि छोटो बाटो पहिल्याउने हो भने गोरखपुरबाट सुनौली नगई ठुठीबारी पुग्ने हो भने भारतीय सीमाबाट मात्र ८ किलोमिटरको दुरी पार गर्नुपर्ने हुन्छ  । गोरखपुरबाट ९६ किलोमिटरको दुरीमा उत्तरतर्फ रहेको भारतीय बाजार ठुठीबारीको सीमावर्ती नेपाली बाजार महेशपुरमा समेत मूल भन्सार कार्यालय संचालनमा आईसकेकोले जुनसुकै भारतीय गाडी पनि नेपाल छिर्न पाउने हुदा भारतीय यात्रुका लागि यो बाटो ज्यादै नै सहज भएको छ । 
रामग्राम पुगेका यात्रुका लागि स्थानीय धार्मिक तथा पर्यटकिय स्थलहरु पनि गन्तब्य बन्न सक्छन् । ३ किलोमिटरको दुरीमा दक्षिणतर्फ पाल्ही भगवतीको मन्दिर रहेको छ । स्तुपबाट करीब ४२ किलोमिटर पुर्वतर्फ त्रिवेणीधाम, ठाढीघाट र मदारबाबा मेला रहेका छन् । उखु उत्पादनको बाहुल्य क्षेत्रको रुपमा चर्चित यहा चिनी उत्पादन गर्ने प्रख्यात ३ वटा ठुला चिनी मिलहरु संचालनमा रहेका छन् । स्तुपबाट २२ किलोमिटरको दुरीमा पुर्वउत्तरतर्फ दाउन्ने पहाडमा दाउन्नेदेवी मन्दिर रहेको छ ।
रामग्राम स्तुप दर्शनका लागि पुगेका यात्रुका लागि खाने बस्ने सुविधा परासी बाजारमै सहज रहेको छ, जुन स्तुपबाट ४ किलोमिटर उत्तरतर्फ स्थित छ । स्तुप क्षेत्रमा सुविधाका लागि यो प्रमुख बाजार पनि हो । स्तुप रहेको स्थान उजैनी, देउरवा र चनरगढिया गाउमा अतिथी सत्कार भाव राम्रो पाईने भएपनि स्वतन्त्र गासवासका लागि परासी बाजार सहज छ । विहानदेखि बेलुकासम्म भ्रमण गर्ने उपयुक्त रहेको स्तुप क्षेत्रमा वासका लागि व्यवस्थित स्थान नरहेकाले यहा आउने यात्रुहरु प्रायः फर्कने सोंचमा आएको भेटिन्छन् । पर्याप्त जनाकारीको अभावमा उनीहरु भैरहवा, लुम्बिनी वा बुटवलमा वास मिलाएका पाईन्छन् । तर हाल स्तुपको बढदो चर्चा र पर्यटकको चापका कारण स्थानीय बाजार परासीमा होटल व्यावसायीहरु यात्रुका सुविधा उपलब्ध गराउने सोंचमा लागेका छन् ।
वृजराज कुशवाहा, नवलपरासी
.................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day