नवलपरासीमा तयारीसंगै बढ्यो नेपाली कांग्रेसको चहलपहल , एक अन्तर्वार्ता


बिलासी नेता पनि आश्रममा बस्ने, सबैजना शाकाहारी खाने, माछामासु मदिरा आदि निषेध

आसन्न नेपाली कांग्रेस महासमितिको बैठकले जिल्लामा नेपाली कांग्रेसलाई सहयोग पुग्नुका साथै भावी चुनावी रणनीतिलाई बल पुग्ने आशाका साथ नवलपरासीमा जमघट हुने देशका उच्च स्तरिय नेताहरुले नवलपरासीको गण्डक समस्या, सुस्ताको सीमा विवादप्रति जानकार हुनेछन् । शक्तिका श्रोतको रुपमा रहेका मदारबाबा, वाल्मिकी ऋषि र गजेन्द्रमोक्ष आश्रमले पार्टी, नेता तथा कार्यकर्तालाई उर्जावान स्थानमा बस्न पाएको अनुभूति गर्न पाउने विश्वास लिईएको छ । त्रिवेणीको गजेन्द्रमोक्षधाममा नारायणी, स्वर्णभद्र र पुर्णभद्र गरी यी तिन नदीको संगमस्थलमा अवस्थित मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यको छनौटमा परेको पवित्र स्थल बन्दसत्रका लागि चयन गरिएको छ । बैठकको व्यवस्थापन कार्य, बैठकबाट हुने सम्भावित उपलब्धि र भावी योजनाबारे नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति देवेन्द्रराज कण्डेलसंग हाम्रा सम्वाददाता वृजराज कुशवाहाले गरेको कुराकानीको अंशः

  • नेपाली कांग्रेस महासमिति बैठकको कार्यक्रमको स्वरुप कस्तो हुनेछ ? 
  • महासमिति बैठकको उदघाट्न चैत २६ गते सोमवार सदरमुकाम परासी स्थित आदर्श उच्च माविको प्रांगणमा एक आमसभाबाट गरिने छ । आमसभामा नेपाली कांग्रेसका सभापति सुशिल कोईराला, वरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभापछि सबैजना त्रिवेणीका लागि प्रस्थान गर्नेछन् । त्रिवेणीमा चैत २७ गते विहानदेखि बन्द सत्रको कार्यक्रम अर्थात बैठक संचालन हुनेछ । कार्यक्रम चैत २९ गतेका दिन समापन हुनेछ ।  
  • महासमिति बैठकको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? 
  • बैठकको तयारी पूरा भएको छ । सबै क्रियाशिल सदस्यहरु तयारी कार्यमा लाग्नुभएको छ । ५सय ५५ जनाको मूल तयारी समिति गठन गरी कार्य विभाजन गरिएको छ । आमसभाका लागि परासीमा ३ सय जना मान्छे अट्ने मञ्च बनाउने काम नगर एकाई समितिले गर्दैछ । त्यस्तै आगन्तुकलाई ओसार्नका लागि ७० वटाको गाडीको प्रबन्ध गरिएको छ । त्रिवेणीमा ५० हजार बढीको जमघट हुने भएकाले सोेही अनुसार आवश्यक सबै व्यवस्था गरिदै छ । कुनै प्रकारको कठिनाई नहोस्, यसका लागि जिल्लाका सबै गाउं एकाई समिति, क्षेत्रिय समिति, बैठक तयारी मूलसमितिका साथै पार्टीका भातृ संगठनका कार्यकर्ताहरु अहोरात्र खटेका छन् । सुक्रवार विहानदेखि प्रचारप्रसारको काम पनि शुरु गरिएको छ । यसअघिदेखि नै विभिन्न एफ एम रेडियोहरुबाट विज्ञापन बजाउने काम भएको छ । 
  • कार्यक्रम स्थलको तयारी कुन रुपमा हुदैछ ?  
  • कार्यक्रम स्थल मुक्तिनाथ पिठाधिश स्वामी कमलनयनाचार्यको आश्रम त्रिवेणीमा दक्षिणतर्फ रहेको प्रवचन हलमा टेन्ट थपेर बैठक कक्ष बनाईदैछ । केही प्रतिनिधि तथा पर्यवेक्षक र पत्रकारका वासका लागि टेन्ट लगाउने काम हुदैछ । केही व्यक्ति निर्माणाधिन गजेन्द्रमोक्ष नारायण मन्दिरको भुईतल्लामा बस्ने व्यवस्था गरिएको छ । छेउको जंगल र आश्रममा लामखुट्टेबाट बच्नका लागि औषधि छर्ने व्यवस्था जारी छ । संस्कृत विद्यापिठको ३२ वटा कोठामा महिला प्रतिनिधिको वास हुनेछ । कार्यक्रम स्थलमा नुहाउने घर, मोबाईल सुविधाका लागि थप विटिएस जडान तथा सो क्षेत्रका लागि खुल्ला ईन्टरनेट (वाईफाई) विजुली र पानीको प्रबन्ध मिलाई सकिएको छ । खाना र खाजाका लागि १० वटा मेस संचालन हुनेछन् । चौविसै घन्टा विजुलीको लागि थप ३ वटा जेनेरेटर जडान गरिएका छन् । करिब ३ दर्जन सौंचालय रहेको सो परिसरमा थप २५ वटा विभिन्न स्तरका सौंचालय बन्दैछन् । जसमा केही कमोडयुक्त हुनेछन् । कार्यक्रम स्थलमा माछामासु, मदिरा, सुर्तिजन्य पदार्थ वर्जित रहनेछ । यो स्थान बजारबाट २ किमी. टाढा जंगलमा रहेकाले कुनै पनि आवश्यक सामानको कमी हुन नपाओस् भनी व्यवस्था मिलाईदैछ । 
  • सहभागिता त निकै हुने होला ? बन्दोबस्त कसरी मिलाउदै हुनुहुन्छ ?
  • एक महिला सहित प्रत्येक निर्वाचन क्षेत्रबाट पांच पांच जना र अन्य गरी १ हजार ३ सय ८० जनाको सहभागिता हुनेछ । प्रतिनीधि संगसंगै सहयोगी, सुरक्षाकर्मी, चालक पनि हुने छन् । त्यसका साथै कार्यक्रम स्थलका स्वयमसेवक, पत्रकार, सुरक्षाकर्मी आदि गरी २ हजार ५ सय जनाका लागि खानाको प्रबन्ध मिलाईएको छ । यी सबै आगन्तुकका लागि खाना खाजा र बासका लागि मेसको व्यवस्था गरेका छौं । खाना सबैका लागि शाकाहारी हुनेछ । विहान बेलुका खाजा तथा चियापानको व्यवस्था मिलाएकाले कोही पनि बाहिर गएर खानुपर्ने आवश्यकता नै पर्देन । 
  • उच्च स्तरका नेताका लागि छुट्टै व्यवस्था भएको छ कि ? सुरक्षाको अवस्था कस्तो छ ? 
  • सबैका लागि समान खाना, समान स्तरको बासस्थान र सुरक्षाको व्यवस्था मिलाईएको छ । केही नेताहरु अस्वस्थ रहेको पुर्व जानकारी आए अनुसार उहांहरुको लागि भिडबाट अलग सुविधाजनक व्यवस्था गरिएको छ । पार्टी सभापति सुशिल कोईराला कार्यक्रम स्थलसंगैको स्वामी कमलनयनाचार्यको ट्रष्टमा रहनुहुनेछ । उंहालाई रहनका लागि नारायणी भवन, वरिष्ठ नेता देउवाका लागि गण्डकी भवन र त्यही भवनमा कृष्ण सिटौला पनि रहने बन्दोबस्त गरिएको छ । हरेक वासस्थानमा सुरक्षाका लागि स्वयमसेवकको दस्ता मौजुद रहनेछ । सुरक्षाका लागि कार्यक्रम स्थलमा पहिलो घेरामा सेवानिवृत्त भुपु सैनिक, दोश्रो घेरामा तरुण दलका कार्यकर्ता र तेश्रो घेरा नेपाल विद्यार्थी संघको रहनेछ । 
  • देशमा निर्वाचनको चर्चा चलिरहेको बेलामा यस कार्यक्रमले चुनावी माहौललाई कस्तो प्रभाव पार्ला ? 
  • यसले नवलपरासीमा नेपाली कांग्रेसलाई मद्दत पुग्ने विश्वास गरिएको छ । पहिलो दिनको परासीमा हुने उदघाटन अर्थात आमसभामा जिल्लावासीको उपस्थिती बढि हुनेछ । संविधान सभाको आगामी निर्वाचनबारे उठेका तमाम भ्रमात्मक प्रचारबाजीका कुराबारे जनता वास्तविकता थाहा पाउनेछन् । नवलपरासी कांग्रेसका लागि एक प्रकारले भन्ने हो भने यो एक चुनावी सभा पनि हो, त्यसैले पनि उदघाटन समारोहमा अत्यधिक जनता सहभागी गराउने प्रयत्नमा नेपाली कांग्रेस जुटेको छ । यसले एक लहर पैदा गर्ने पक्कापक्की छ ।
  • नवलपरासीमा महासमितिको बैठक सम्पन्न भैरहेको छ, यसबाट नवलपरासीले के पाउनेछ ? 
  • नेपाली कांग्रेसका सबै नेताहरुले नवलपरासीलाई नजिकबाट चिन्ने मौका पाउनेछन् । यहांका समस्याहरु भावी दिनमा समाधान गर्न सहज हुने विश्वास मैले लिएको छु । नवलपरासीका जनताले राष्ट्रिय स्तरका नेताहरुसंग घुलमिल हुने मौका पाउनेछन् । जसले निकटतामा अभिवृद्धि हुने विश्वास छ । नेपाली कांग्रेस आम जनताको पार्टी हो भनी महशुस गर्ने अवसर मिल्नेछ । 
  • के के हुन् नवलपरासीका ज्वलन्त समस्याहरु ?
  • तिनतले विकट छ नवलपरासी जिल्ला, गण्डकको डुबान, कटान र क्षतिपुर्तिको समस्या, गण्डक पावरहाउसको गिर्दाे विद्युत उत्पादन र लोडसेडिंगको समस्या, सुस्ताको सीमा विवाद तथा एसएसबी आतंक, नागरिकताविहिन युवाहरु, सडक, सिंचाई, किसानको समस्या नवलपरासीको प्रवल समस्या हो ।                                             ०६९ चैत २३

...............................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day