म किन लागें राजनीतिमा ? गगन थापा



काठमाडौंको एक निम्नमध्यम बर्गीय परिवारमा जन्मिएको हुँ । बुबा सरकारी जागीरे हुनुहुन्थ्यो अनि पेशाले इन्जिनियर । मेरो पुर्ख्यैाली घर सोलुखुम्बुदेखिनै परिवारका थुप्रै सदस्य प्रजातान्त्रिक आन्दोलमा लाग्नुभएको रहेछ । सेनामा कार्यरत भएपनि हजुरबुबाले कांग्रेसको आन्दोलनलाई सहयोग पुर्‍याउनुभएको थियो । कांग्रेसका कार्यकर्तालाई बस्ने र खाने बन्दोबस्त मिलाई दिएवापत चार महिनाभन्दा बढी समय जेल बस्नुपरेको थियो । पछि प्रधानपञ्च हुँदासम्म नै त्यो क्रम जारी रहेको थियो । म सानै छँदा पनि काठमाडौंको मेरो घरमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका थुप्रै अग्रजहरु आउनुहुन्थ्यो । उहाँहरुको सुत्ने व्यवस्था प्रायजसो मै सुत्ने कोठामा मिलाइएको हुन्थ्यो । पाहुनाहरु रातीसम्म राजनीतिका गफ गर्दै बस्नुहुन्थ्यो ।त्यो राजनीतिक गफ मेरो बाल मस्तिष्कमा गहिरो छाप बनेर बसेको थियो । हाम्रो हजुरबुबा, काका, बुबाहरु सबै कांग्रेस समर्थक हुनुहुन्छ र उहाँहरु पनि आन्दोलनमा सहभागी हुनुहुन्छ भन्ने बुझ्न पाहुनासंग हुने उहाँहरुको गफबाट सजिलो भएको थियो । त्यसैगरी मेरो कान्छो काका चाहीं कम्युनिष्ट आन्दोलमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पनि हामीसँगै बस्नुहुन्थ्यो । र, परिवर्तनका कुरा गरिरहनुहुन्थ्यो । उहाँको परिवर्तन प्रेमी कुरा अनि पाहुना र अन्य सदस्यका प्रजातान्त्रीक कुरा दुवैले मलाई परिवर्तनको एजेण्डा र फरकपन दिन सकिने गरी स्वतन्त्रताको आन्दोलनमा होमिन उत्प्रेरित गर्‍यो ।Youth Leader Gagan Thapa
२०४६ सालको जनआन्दोलन हुँदा म सिद्धार्थ बनस्थली स्कुलमा पढ्थें । प्राइभेट स्कूल भएकाले त्यही राजनीतिक गतिविधि हुदैंन थियो । तर, पनि आन्दोलनको पूर्वसन्ध्यामा विस्तारै छलफल र बैठकहरु हुन थाले । र, त्यस्ता गतिविधीहरुमा पनि मेरो रुची राम्रै थियो । त्यसमाथि मेरो सक्रियता २०४६ को जनआनदोलनमा पनि भएको थियो । एसएलसी पास भएपछि म आएस्सी पढ्न अस्कल क्याम्पस भर्ना हुँदा राजनितिक गतिविधीहरुलाई प्रत्यक्षरुपमा नियाल्ने मौका पाए । राजनीतिक दलका विद्यार्थी भातृ संगठनका कृयाकलापलाई मैले मज्जैले बुझ्न पाए । पछि त्रिचन्द्रमा विएस्सी पढदै गर्दा मेरो मन भित्र एउटा बहस उब्जियो । अब्बल विद्यार्थीहरु राजनीतिमा लाग्नु हुन्छ वा हुदैन ? के विद्यार्थी राजनीति गर्न क्याम्पसमा दशौ बर्ष विताएर उमेरको तीन दशक कटाउनै पर्छ र ? तर होइन, उत्तर पनि आफ्नै चेतनाले निकाले । र तत्कालिन रुपमा एउटा भिन्नै विचार लिएर कठोर निर्णय गरेर म स्ववियू निर्वाचनमा उम्मेद्धवार बनेँ अनि नेविसंघबाट स्ववियु सदस्य जिते पनि ।

मेरा यी सवै गतिविधी परिवारले चाहेको भन्दा फरक थिए । मेरा दौतरीहरुमा त्यस बेला रहेको अमेरिका, अष्ट्रेलिया जाने विचार भन्दा म अलग भएँ । त्यसैले केही समय मलाई परिवारमा समेत असहज भयो । परिवार मलाई डाक्टर वा इन्जिनियर भएको हेर्न चाहन्थ्यो । उनीहरुको यो चाहनामा मैले तुषारापात गरिदिएको कसरी चित्त बुझ्थ्यो र ? फेरी त्यस बेला कम्पिटिसन टु एक्जीटू अथवा विदेशीन प्रतिष्पर्धा हुन्थ्यो । को पहिले अमेरिका पुग्ने ? कसले पहिला भिषा पायो ? तर यी सबै प्रश्नहरुसंग मेरो सम्बन्ध विस्तारै हराउदै गयो । पछि राजनितिमा थप सक्रिय हुदै गएँ । विज्ञानको विद्यार्थी त्यसमा पनि पढाइमा अब्बल क्षमता भएकाहरुको त्यसताकाको ट्रेनमा मैले ब्रेक लगाएर नयाँ बाटो रोजेको थिएँ । त्यो आफैमा प्रगतिशिल र परिवर्तनकारी पाइला थियो जस्तो लाग्छ मलाई । किनभने मैले त्यसबेला विज्ञानको विद्यार्थीहरुको टे्रन तोडेको थिएँ । यसैक्रममा मैले त्रिचनद्रमा स्ववियु सदस्य, स्ववियु सभापति हुदै नेविसंघको केन्दि्रय समितीसम्म पुगेँ र पछि महामन्त्रीसम्म बनेँ ।
अरु सबै साथीहरुले खोज्ने उत्तर भन्दा मेरो प्रश्नहरु अलि फरक हुन्थे । नेविसंघमा काम गर्दै गर्दा पनि अन्य साथीहरुले भन्दा मैले भिन्न तवरले सोच्थेँ । साथीहरु संगठन चलाउन को संग कति माग्ने भन्नेबारे सोच्थे भने म कसरी विद्यार्थी संगठनलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ लागें । म तत्कालिन घटनाक्रमहरुलाई फरक ढंगले हेर्थें, साथीभाई र बौद्धिक जनमानससंग छलफलमा बस्थेँ र कार्यपत्रहरु लेख्ने गर्थें । यस्तै गर्दा राजाको माघ १९ को कु भयो । र त्यसपछि राजनीतिक आन्दोलनको शुरुवात भयो । त्यसैक्रममा अन्य विद्याथी संगठनका साथीहरु, नागरिक समाजका अगुवाहरु र विभिन्न राजनीतिक दलका नेता तथा समाजका प्रभुत्व व्यक्तित्वहरुसंग मेरो सम्बन्ध विस्तार हुदै गयो । उहाँहरुको विचार जान्ने-बुझ्ने मौका पनि प्रसस्तै पाइयो । उहाँहरुसंगको संगतले मलाई अझै परिपक्क र परिवर्तनशिल बनायो । समयको क्रमलाई समात्न सिकायो । पछि राजनितिक आन्दोलन सफल भएपछि माओवादी साथीहरु पनि शान्तिपूर्ण राजनितिमा आउनुभयो । उहाँहरुसंगको हिमचिमले पनि मलाई धेरै कुरा सिकायो । विज्ञानको विद्यार्थी भएकोले पनि होला, मलाई हरेक प्रश्नको तर्कसंगत उत्तर चाहिन्थ्यो । यी सवैको संगत र अध्ययनबाट मैले सिकेको भनेको परिवर्तन र स्वतन्त्रता हो । यी दुवै आजको नेपालका परिपुरक हुन् । यद्धपि मैले सबै कुरा जानीसकेँ भन्ने होइन ।
२०५८ जेठ १९ मा भएको वीरेन्द्रको वंशनाश राजा ज्ञानेन्द्रको २०५९ असोज १८ को कदम आदीले मलाई विक्षप्त बनाएको थियो । साच्चै भन्ने हो भने यी घटनाहरु मेरो जीवनका टर्निङ्ग प्वाइनटहरु हुन ।
सायद म राजनीतिमा नलागेको भए डाक्टर इन्जिनियर हुन्थे होला अथवा मेरा परिवारका अन्य सदस्य झै विदेशमा रहदै यहाँका नेताहरुलाई गाली गर्दै बस्थे होला । मेरा साथीहरु विदेशमा धेरै छन् । म पनि उनीहरु जस्तै अनलाईनमा केही लेख्थे होला, ब्लगीङ गर्थे होला अनि नेताहरुलाई गाली गर्थे होला । तर, त्यो समाधान भने होइन । पोखरीको डिलमा बसेर पानी फोहोर भएछ भन्नुको म कुनै अर्थ देख्दिन । फोहर देख्नेले पोखरीमै हाम फालेर फोहोर सफा गर्न सक्नु पर्छ भन्ने मेरो मान्यता हो । फेरी राजनीतिमा लागेका सबै खराब नै छन् भन्ने पनि होइन । त्यहाँभित्रका राम्रा पक्षलाई लिएर कमजोरीको सुधार गर्न सक्नुनै अहिलेको आवश्यकता हो ।
यसो भन्दै गर्दा विदेशिनु गलत हो भन्ने अर्थ लगाएको होइन । हो, विदेश जानुपर्छ । त्यहाँको विकास र त्यहाँ भएको ज्ञान सिक्नुपर्छ तर त्यो ज्ञान र सिकेका कुरालाई आˆनो देशमा उपयोग गर्न पनि सक्नुपर्छ । सधैभरि बिदेश बसेर आफ्नो व्यक्तिगत जीवनको भविष्य मात्र सोच्ने अनि यहाँका नेतालाई गाली गर्ने टे्रनमा म कुनै तुक र दम देख्दिन । विदेशमा सिकेका शिपलाई राष्ट्र विकासमा उपयोग गर्न सकिन्न भने त्यसको कुनै अर्थ छैन । म आब्हान गर्न चाहान्छु, आउनुहोस नयाँ जोश- जागर बोकेर, नयाँ सिप र क्षमता लिएर अनि यो पुस्तालाई विस्थापित गरेर देशको नेतृत्व लिनुहोस । यसमा तपाई हामी र पुरै राष्ट्रको भलो लुकेको छ ।
तर यसको अर्थ व्यक्तिगत जीवन, आर्थिक जीवन समाप्त पार्नुस भन्न खोजेको होईन, म पनि एउटा कृषक हुँ । केही साथीहरुसंग मिलेर कृषि पेशामा तल्लीन छु । खेती किसानी र बाख्रापालन गरिरहेको छु । तपाई पनि यस्तै व्यवस्थापकीय क्षमता अभिबृद्धि गरेर जान सक्नुहुन्छ भन्ने मलाई लाग्छ । मात्र मेरो आग्रह के हो भने, हामीलाई विस्थापित गर्ने गरि तयार हुनुहोस र हामीलाई विस्थापित गर्न आउनुहोस् ।
देशको तत्कालिन कार्यदिशा भनेको शान्ति, संविधान र परिवर्तन हुनुपर्छ । सिद्धान्त सबैका आ-आफ्नै होलान् । तर कार्यदिशा यिनै हुनुपर्छ । अवको समय यिनै कार्यदिशा प्राप्तीको लागि खर्चिनेछु । प्राप्त भइसकेका उपलव्धी जोगाउनु हाम्रो अगाडी चुनौती छ । हाम्रा अग्रजहरु समस्या खोज्न सक्षम भए तर समाधान दिन सकेनन् । आन्दोलन सफल बनाए, तर आन्दोलन पछिको व्यवस्थापनमा चुके । ध्वस्त भएको राज्य व्यवस्तालाई फेरी चुस्त पार्न चुके ।
त्यसैले नयाँ व्यवस्थापकिय क्षमतावान् अझ भने समाजका अब्बल दर्जाका प्रतिभावान् पुस्ताको राजनितिमा निकै ठूलो खाँचो छ । म सबै युवाहरुलाई फेरी पनि हामीलाई विस्थापित गर्ने गरि राजनितिमा आउनुहोस भन्ने आग्रह गर्दछु ।
तर एउटा कुरा लुकाउनु हुदैन । राजनीति भनेको पाउने र कमाउने व्यवसाय होइन । यद्धपी कत्तिले यसलाई यही रुपमा बुझेका पनि होलान । तर यहाँ आइपुगेपछि धेरै कुरा त्याग गर्न सक्नुपर्छ । राजनीति त्यागको मुआब्जा खोज्ने ठाउँ होइन । मैले पनि राजनीतिमा लागेर धेरै गुमाएको छु । सवैभन्दा महत्वपूर्ण कुरा त मैले आफ्नो व्यक्तिगत जीवन गुमाएकोछु । सधै संगठन, सधै गोष्ठी सधै बैठक भन्दा भन्दै आफ्नो पारिवारीक जीवन कहाँ पुग्छ आफैलाई थाहा हुँदैन । यसको कारण समय व्यवस्थापनामा मेरो कमजोरी भएकोले पनि हुन सक्छ । त्यस्तै समयकै कारण धेरै पुस्तक पढ्न पाएको छैन । इच्छा हुँदा हुँदै पनि पढ्न नपाउँदा साह्रै दुःख लाग्छ । राजनितिले मलाई गरेको अपगुण यिनै हुन । तर मैले यसो भनेर राजनीतिमा आउन खोजेका नयाँ पिढीलाई हतोत्तसाहीत पार्न खोजको होइन ।
मैले भन्न खोजेको के हो भने, हामी हाम्रो पुस्तासम्म आइपुग्दा पनि समय व्यवस्थापन गर्न चाहिने सिपमा अपूर्ण छौं । यो सवालमा हामी चुकेका छौं । तपाई नयाँ साथीहरु समयको कुशल व्यवस्थापन गर्न सक्ने सिप बोकेर आउनुहोस् । यही मुख्य सिप तपाइको उर्जा बनेर जीवनमा सहयोगी बन्ने पक्का छ । म पचास कटेपछि सक्रिय राजनीतिबाट सायद थाक्छु होला, त्यसपछि पालो तपाईहरुको हो । आफुमा सिक्ने क्रममा कुनै बन्देज नलगाउनु होला । परिवर्तनशील मुद्दामा समाधान सहितका प्रश्न बोकेर आउनुहोस् अनि नेपाललाई सही नेतृत्व गर्नुहोस् भन्ने मेरो युवाहरुलाई आग्रह रहन्छ ।
अन्त्यमा, म युवाहरुलाई के भन्न चाहन्छु भने समाज बदल्ने चाहना राख्नु हुन्छ भने किनारा बसेर आलोचना मात्रै नगर्नुहोस् । राजनितीको मुलधारमा केहि समयको लागि भएपनि आउनुहोस् । अहिले हामी राजतन्त्रात्मक युगको अन्त्य गरेर नयां गणतान्त्रिक युगमा प्रवेश गरेका छौं । त्यसकारण गणतन्त्रलाई संस्थागत गर्दै स्वाधीन र समृद्ध राष्ट्र बनाउन क्षमतावान र सक्षम युवाहरुको भुमिका आवश्यक मात्र होइन अपरिहार्य बनेको छ । यो दल या उ दल भन्ने छैन, आफ्नो आस्थाको दलमा प्रवेश गरेर ती दल भित्रका पुराना खिइएका मक्किएका परिपाटीलाई परिवर्तन गर्नुहोस् । हाम्रो पुस्ताको सानो त्यागले एउटा सिंगो देशको भविष्य, हाम्रो सन्तन्तिको भविष्य उज्ज्वल हुन्छ भने हामीले अहिलेदेखि नै त्यसको शुरुवात किन नगर्ने ? 


२०३३ साल फाल्गुण ४ गते 
समयबोध मासिकबाट साभार

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day