साक्षरता कक्षा संचालन गर्न विद्यार्थी परिचालन


निरक्षरलाई साक्षर बनाउनका लागि नवलपरासीको गूठी परसौनी गाविसमा साक्षरता कक्षा संचालन गरिएको छ ।
एक सय वटा साक्षरता कक्षा संचालन गर्नका लागि जन जागृति उच्च माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थी परिचालन गरिएको गाविस साक्षरता कक्षा संयोजक वृजराज कुशवाहाले जनाएका छन् । 
भारतीय सीमामा रहेको यस गाविसको ९ वटै वडाहरुमा १ हजार ६ सय ८१ जना निरक्षरहरु रहेका छन् । सो सबै निरक्षरहरुलाई साक्षर बनाई गाविसलाई साक्षर बनाउनका लागि सो साक्षरता कक्षा संचालन गरिएको हो । ३ महिनासम्म संचालनमा रहने यी कक्षाबाट साक्षर भएकालाई साक्षरता प्रमाणपत्र दिईने र सबै जना साक्षर भए गाविसलाई नै साक्षर घोषणा गरिने नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयनाथ लम्सालले जनाएका छन् ।
गूठी परसौनीमा संचालन गरिएका यी कक्षाहरुमा जन जागृति उच्च माध्यमिक विद्यालय गूठी परसौनीका कक्षा ९ र १० मा स्वास्थ्य जनसंख्या तथा वातावरण विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले सिकाउने काम गर्नेछन् । नेपाल सरकारको साक्षरता अभियान अन्तर्गत विद्यार्थीहरुले आगामी ३ महिनासम्म गाउंमै पुगेर आफ्ना अभिभावकलाई साक्षर बनाउन विभिन्न १२ वटा सीप सिकाउनेछन् ।
विहान र बेलुका गरी २ घण्टासम्म चल्ने सो कक्षामा सिक्ने अभिभावकहरुले तोकिएको १२ मध्ये कम्तिमा पनि ७ वटा सीप हासिल गरेपछि साक्षरता प्रमाणपत्र पाउनेछन् । प्रमाणपत्र दिईनुअघि विद्यालयका प्रधानाध्यापक वा विषय शिक्षकले साक्षर भए नभएको जांच गरी मात्र प्रमाण दिने व्यवस्था रहेको प्रधानाध्यापक बाबुराम सुवेदीले बताए ।
कक्षा १० र ९ मा स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको प्रयोगात्मक परिक्षाको २५ अंकमध्ये साक्षरता कक्षा पढाई साक्षर बनाए वापत १० अंक पाउने प्रावधान रहेको छ ।
वृजराज कुशवाहा २१ माघ
.........................

Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

राजीनामा दिनुकाे प्रष्टिकरण

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी