भूकम्प पीडितलाई एकमुष्ट राहत नदिए आन्दोलन गर्ने कांग्रेसको चेतावनी
काठमाण्डाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले
एक महिनाभित्र भूकम्प पीडितलाई एकमुष्ट राहत दिन सरकारसँग माग गरेको छ ।
नभए आन्दोलनमा उत्रने उसको चेतावनी छ ।
कांग्रेसका २२ सांसदले मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै भूकम्प प्रभावितको
राहत र पुनर्निर्माणमा असन्तुष्टि जनाएका छन् ।
सरकार कहिले ‘पुनर्निर्माणको महाअभियानको
थालनी’ त कहिले ‘मेरो धरहरा म आफै बनाउँछु’ भन्ने नारामै रमाइरहेको
कांग्रेसको आरोप छ । ज्ञापन पत्रमा भनिएको छ, ‘अहिले सरकारको काम व्यवहारले
भूकम्प पीडितका लागि राहत ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएको छ भने
पुनर्निर्माण कुइरोको काग जस्तै भइरहेको छ ।’
कांग्रेसले भूकम्प पीडितलाई दिइने घोषित
राहत किस्ताबन्दीमा नभइ एक महिनाभित्र एकमुष्ट रुपमा दिन माग गरेको छ ।
साथै पीडितहरुको पुन प्रमाणीकरणको कार्यलाई स्थगित गरी गत साल गरिएको
प्रमाणीकरणलाई नै आधार बनाउनु पर्ने माग गरेको छ ।
राहत वितरणलाई सरल र सहज बनाउनका लागि ईबैंकिङ प्रणाली अपनाउन र पीडितलाई घरको निःशुल्क नक्सा पासको व्यवस्था गर्न आग्रह गरेको अनलाइनमा खबर छ ।
कांग्रेसका सांसदहरुले नाकाबन्दी खुलेको
महिनौं हुँदा पनि ग्यास, इन्धन जस्ता अत्यावश्यक बस्तु सहज ढंगबाट आपूर्ति
हुन नसक्नु संस्थागत कालोबजारी भएको भन्दै अत्यावश्यक वस्तुहरुको सहज
आपूर्ति गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्ना माग पूरा नभए दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
Comments
Post a Comment