संविधान संशोधन नभई राजपा नेतृत्व चुनावमा जाने पक्षमा देखिदैछ; नेता हृदयेश त्रिपाठी

५ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेताहरु बालुवाटारमा वार्ता गरिरहँदा बुधबार सोही पार्टीका बरिष्ठ नेता हृदयेश त्रिपाठी अनलाइनखबरसँग पार्टीभित्रका दुःखहरु सुनाउँदै थिए ।
राजपा पार्टी बनिनसक्दै ठूलो संकट र अकर्मन्यतामा फसेको विश्लेषण गर्दै त्रिपाठीले साउन १५ भित्रमा केन्द्रीय समिति बैठक बोलाएर विधान र घोषणापत्रबारे छलफल गर्न अल्टिमेटम दिएका छन् ।
पछिल्लो पटक ५ नम्बर प्रदेशका राजपा नेताहरुले भैरहवामा गरेको बेग्लै भेलापछि हृदयेश त्रिपाठीहरुले राजपाबाट विद्रोह गर्न लागेको चर्चा चलेको छ । तर, पार्टीका नाममा पसल खोलेर मधेसको मसिहा बन्ने पक्षमा आफू नरहेको त्रिपाठीले प्रष्ट पारे ।
प्रस्तुत छ त्रिपाठीसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीः

हामीले अहिले यो अन्तर्वार्ता गरिरहँदा पनि तपाईको पार्टीको अध्यक्ष मण्डल बालुवाटारमा छ । मन्त्रिपरिषद विस्तार अघि राजपासँग वार्ता गर्नुपर्ने अवस्थामा सत्तापक्ष पुग्नुको अर्थ तपाईहरुसँग साँचो त रहेछ नि होइन ?
हामीसँग कुनै साँचो छैन । यथार्थमा के भने राजपा एकीकरणपछि यसलाई देखाएर धेरैको राजनीति चलेको छ । दोस्रो चरणको स्थानीय चुनावमा राजपा नआओस् भनेर कांग्रेसले राम्रैसँग खेल खेल्यो । राजपालाई चुनावमा भाग लिनबाट रोकेर उसले केही फाइदा पनि लियो होला तर समग्रमा कांग्रेसले सोचेजस्तो भएन । मधेसको जनमत राजपा भाग नलिँदा कांग्रेसले पाउने अनुमान थियो । तर, उल्टो एमालेतिर गइदियो । त्यसैले अब दोस्रो चरणमा राजपालाई चुनावमा लैजान कांग्रेसले फेरि खेल गरिरहेको हो । अरु कुरा त म अध्यक्ष मण्डलमा नभएकाले केही पनि थाहा भएन ।
अध्यक्ष मण्डलमा नभए पनि तपाई पार्टीको शीर्ष नेता त हो नि, यस्ता कुरामा पार्टीभित्र छलफल हुँदैन र ?
दुर्भाग्य के भने राजपामा कुनै छलफल नै हुँदैन । ६ वटा दल एकीकरण भएपछि ६ वटा दलका अध्यक्षहरु रहेको अध्यक्ष मण्डल बनाइयो । अध्यक्ष मण्डल नै सर्वमान्य हो भन्ने सन्देश दिइयो । जसका कारण पार्टीमा कसैलाई केही थाहा हुनै छाड्यो ।
यसैसाता तपाईको नेतृत्वमा आयोजना गरिएको भैरहवाको भेलाले राजपाभित्र हल्लीखल्ली मच्चियो, खासमा त्यो भेला केका लागि थियो ?
भैरहवा भेलामा विशेष गरी ५ नम्बर प्रदेशका मधेसका जिल्लामा गत निर्वाचनमा के कस्तो भयो त्यसबारे आ-आफ्नो भूमिकाका बारेमा समीक्षा गरियो ।
अध्यक्ष मण्डलका सबै नेताजीहरु २ नम्बर प्रदेशकै भएकाले उहाँहरुको दाह्रीमा आगो लागेको छ । त्यसैले २ नम्बर प्रदेशका लागि चिन्तित भएर लाग्नुभएको छ
पार्टीको घोषणापत्र विधान निर्माणबारे हामी अनविज्ञ छौं, अविलम्व साउन १५ अघि बैठक बोलाएर छलफल गरौं, निर्णय गरौं । आगामी दिनहरुमा कसरी अघि बढ्ने भनेर पार्टीले तय गरोस भनेर त्यहाँ छलफल भएको हो । जुन ढंगले अलग पार्टी बनाउने, बिद्रोह गर्ने भन्नेर प्रचारबाजी गरियो, त्यो गलत कुरा हो ।
उसोभए भैरहवा भेला मधेसमा नयाँ पार्टी खोल्ने तयारीका लागि आयोजना गरिएको होइन ?
हेर्नुस, मैले आजसम्म मधेसमा पसल खोलेको छैन । मेरो माताहतमा रहेका सबैले पसल खोले । हाम्रो सद्भावना पार्टीमा हनुमानी मण्डल भन्ने पिउन थिए । ती हनुमानी मण्डल बाहेक अरु सबैले पसल खोलेको अवस्थामा पनि मैले त्यतातिर जान चाहिनँ ।
राजेन्द्र महतो मेरा सहायक हुन्, उनले पसल खोले । अनिल झा त विद्यार्थी नेता थिए । श्यामसुन्दर गुप्ता, सरिता गिरी, खुसीलाल मण्डलदेखि कार्यालय सचिव विकास तिवारीसम्मले पसल खोले ।
मैले मधेसमा पार्टीका नाममा पसल खोल्न चाहिनँ । मैले एउटा मिसन अघि बढाउन खोजेको हुँ । त्यसैले राजपाको एकीकरणमा निस्वार्थ रुपमा सघाएँ । मैले अन्तिममा पनि पहल नगरेको भए अनिल झा एकतामा आउने अवस्था थिएन । साँच्चै भन्ने हो भने मलाई मधेसमा समोसा पसल जस्तो पार्टी थप्ने इच्छा छैन ।
तर, पसल खोलेपछि नेता बन्न पाइने रहेछ भन्ने त अहिलेको अध्यक्ष मण्डलका अनुहारले देखायो नि ?
यो कुरामा सत्यता छ । जसले पार्टी फुटायो र पसल थाप्यो, उही नेतृत्वमा जान्छ भने एउटा कुरा आयो । तर, भूमिका भनेको त समाज र जनताले निर्धारण गर्छन्, पसल खोलेर नेता बन्नु र मिसनमा हिँड्नु फरक कुरा हो ।
राजपामा महन्थ ठाकुर तपाईहरुले विश्वास गरेका नेता हुन्, पछिल्लो समय पार्टीभित्र उनी निरीहजस्तै बनेका हुन् कि तपाईहरुमाथि विश्वासघात भएको हो ?
महन्थ ठाकुरजीप्रति हामीलाई शंका छैन । उहाँ भद्र मान्छे, सहज ढंगले अघि बढ्न खोज्नुभयो । उहाँ छलकपटको राजनीति गर्नुहुन्न । तर, जुन असन्तुलित र अप्राकृतिक ढंगले पार्टी एकीकरण भयो, त्यसमा हाम्रो असन्तुष्टि छ ।
कसरी असन्तुलित ढंगले पार्टी एकता भयो ?
जस्तो कि ११ सीट जितेको तराई मधेस लोकतान्त्रिक पार्टी र एक सीट भएको पार्टीको नेताको दर्जा उही देखियो । यसमा कार्यकर्ता पंक्ति असन्तुष्ट र आक्रोशित छन् ।
राजपाले गरेको चुनाव बहिस्कारलाई चाहिँ तपाई कसरी विश्लेषण गर्नुहुन्छ ?
दोस्रो चरणको चुनाव अघि यिनै अध्यक्ष मण्डलका नेताहरुको अकर्मन्यताले गर्दा पार्टी दर्ता हुन सकेन । हामीले पूर्वी र पश्चिम तराईका जिल्लामा न प्रभावकारी बहिस्कार गर्न सक्यौं, न त प्रभावकारी ढंगले चुनावलाई प्रयोग गर्न नै सक्यौं । अहिले आएर २ नम्बर प्रदेशका बारेमा अध्यक्षमण्डल तातेको छ । अध्यक्ष मण्डलका सबै नेताजीहरु २ नम्बर प्रदेशकै भएकाले उहाँहरुको दाह्रीमा आगो लागेको छ । त्यसैले २ नम्बर प्रदेशका लागि चिन्तित भएर लाग्नुभएको छ ।
तर, तपाईहरुको दाह्री त डढिसक्यो, उहाँहरुको दाह्रीमा आगोमात्रै लाग्दैछ भनेपछि अब के हुन्छ त ?
हामीलाई त उहाँहरु (१, ५ र ७ प्रदेशका नेता कार्यकर्ता) ले समाप्त गरिसक्नु्भयो । चुनाव बहिस्कार भनियो । इमान्दारितापूर्वक हामीले भाग नलिने भनेर लागियो । कतिपय बुथमा प्रभावकारी बहिस्कार भएको हो । मेरै क्षेत्रको कुरा गर्नुहुन्छ भने कहीँ २ भोटमात्र खस्यो, कहीँ १५४ भोट खस्यो । कहीँ १८ प्रतिशत मात्र खस्यो । तर नेतृत्वको अकर्मन्यताले गर्दा हामी सकियौं ।
मोरङ, सुनसरी, कैलाली कञ्चनपुरका साथीहरुले अब ५ वर्ष हामीले के गर्ने भनेर चिन्ता व्यक्त गरिरहेका छन् ।
अब केही दिशानिर्देशन त आउला नि ?
त्यस्तो संकेत देखिँदैन । अहिले पनि पार्टी दर्ता गर्ने क्रममा जुन ढंगको विधान र घोषणापत्र दर्ता गराइएको छ, पार्टीभित्र कुनै सल्लाह भएको छैन । हामीले अविलम्व केन्द्रीय कार्य समिति बैठक गरेर अनुमोदन गरियोस् भनेका हौं । एउटै पार्टी कुनै प्रदेश विशेषमा बहिस्कार गर्ने, कुनैमा भाग लिने भन्ने कुराले आम जनता र कार्यकर्तामा कस्तो सन्देश जाला ? कसरी चित्त बुझाउँला भन्ने गोलचक्करमा अध्यक्ष मण्डल फसेको देखिन्छ ।
स्वतन्त्र हैसियतले चुनावमा भाग लिएका र जितेका कार्यकर्तालाई कारवाही गर्ने कुरा पनि राजपाभित्र चल्न थालेको हो ?
पहिलो कुरा के बुझौं भने पार्टीका मान्छे चुनाव लडेका छैनन् । जो चुनाव लडे र जिते उनीहरु स्वतन्त्र हुन् । पार्टीबाट अलग भएरै चुनाव लडेका हुन् । अब कारवाहीको नाटक कसका लागि ? यसमा कुनै अर्थ छैन ।
अब तराई मधेसका ११ जिल्लामा त तपाईहरुको हालत भनिहाल्नुभयो, कोर मधेस भनिएको २ नम्बर प्रदेशको तयारी के छ ?
यसमा के देखिन्छ भने अध्यक्ष मण्डल विभाजित छ । २ नम्बर प्रदेशमा चुनाव लड्ने हिसाबले उहाँहरुले तयारी गरिरहनुभएको छ ।
तर, संविधान संशोधन नभई चुनावमा जान सम्भव छ ? मैले बुझे अनुसार राजपा नेतृत्व चुनावमा जाने पक्षमा पुग्दैछ । त्यहाँ अन्तरद्वन्द्व त छ । तर, कांग्रेसले चुनावमा लैजान खोजेको छ ।
यस वीचमा संविधान पनि त संशोधन होला नि ?
संविधान संशोधन त सम्भव देखिन्न । २ नम्बरको चुनाव सकेपछि पनि चुनावतिरै मुलुक जाने हो । त्यति सहजै संविधान संशोधन हुन्छ जस्तो मलाई लाग्दैन । एमाले नभई संविधान संशोधन हुदैन, एमालेले कुनै हालतमा मान्दैन ।
अब राजपा चुनावमा नगएर कांग्रेसले फाइदा लिन सक्दैन, किनकि कांग्रेस अब मधेसमा एक्सपोज भइसक्यो त्यसैले कांग्रेस जसरी पनि राजपालाई चुनावमा लैजानुपर्ने बाध्यात्मक अवस्थामा छ
एमालेसँग पनि राजपाको छलफल चलेको सुनियो, एमाले आफैंले पनि २ नम्बर प्रदेशको चुनावपछि संशोधनबारे छलफल गरौंला भन्यो नि ? यसलाई कसरी लिनुभएको छ ?
अब २ नम्बर प्रदेशको चुनावपछि पनि प्रदेश र संसदको चुनावमा जान्छ मुलुक । संविधान संशोधन हुने सम्भावना छैन । अब धेरै कुरा हुनेवाला छन् । अहिले धेरै कुरा म भन्न चाहान्न, तर यथास्थितिमा मुलुक रहँदैन । संविधान संशोधन पनि हुँदैन ।
तपाईहरुको एमालेलाई मधेस बिरोधी करार गर्नुभयो, मधेसमा पस्न दिन्नौं भन्दा राजविराजमा दुःखद घटना समेत भयो । तर, एमाले नै ठूलो पार्टी बन्दा तपाईलाई कस्तो लागेको छ ?
एमालेलाई आफ्नो बोलीले मधेस बिरोधी प्रमाणित गरेको हो । धन्दा र सोच त कांग्रेस, एमाले र माओवादी तीनै दलको एउटै हो । को बढी, को घटी भन्ने नै छैन । तर एमालेले बढी भोकल भएर बोल्यो ।
जहाँसम्म एमाले ठूलो पार्टी बनेको कुरा छ, मैले त्यसलाई अनौठो मानेको छैन ।
म चुनावका बेला भैरहवा, नवलपरासी र कपिलवस्तुमै घुमिरहेको थिएँ । त्यहाँको सेन्टिमेन्ट नै यस्तो भयो कि, कांग्रेसले धोका दियो अब एमाले जिताउनुपर्छ भन्नेतिर जनमत गयो ।
टीकापुरदेखि सुस्ता महेशपुरसम्म अनि कोर मधेसका केही ठाउँमा समेत एमाले जित्नुको कारण नेगेटिभ भोटिङ नै हो त ?
सुस्ता मेरै निर्वाचन क्षेत्रमा पर्छ । त्यहाँ एमालेको त्यति ठूलो संगठन पनि होइन । तर, कांग्रेसको बिरोधमा रहेको जनमत एमालेमा गयो । राजपाले भाग नलिएपछि त्यो भोट र राप्रपाको भोट समेत एमालेतिर गएर चुनाव जितेको देखियो ।
एउटा कुरा के भने मधेसमा बस्ने गोर्खाली (पहाडी) समुदायको भोट एमालेमा एकत्रित भएको देखियो । मधेसी समुदायको भोट पनि आक्रोशित भएर एमालेतिर गयो र एमाले मधेसमा पनि पहिलो दल बन्यो ।
तर, कांग्रेससँग आक्रोशित मधेसी जनमत त मधेसवादी दल फोरम र फोरम लोकतान्त्रिकतिर जानुपर्ने होइन र ? कसरी एमालेमा गयो भनेर पत्याउने ?
तिनीहरुको संगठनको अवस्था र उम्मेदवार विश्वसनीय नभएर हुन सक्छ, मधेसको आक्रोशित जनमत उनीहरुले लिन सकेनन् । मधेसीले समेत एमालेलाई नै भोट दिएको देखियो ।
अब दुई नम्बर प्रदेशमा पनि राजपा चुनावमा गएन भने कांग्रेसले फाइदा लिन सक्छ त ? राजपा चुनावमा जाँदा वा नजाँदा त्यस्तो असर कस्तो पर्ला ?
अब राजपा चुनावमा नगएर कांग्रेसले फाइदा लिन सक्दैन । किनकि कांग्रेस अब मधेसमा एक्सपोज भइसक्यो । उसले मधेसीलाई झुक्याएको कुरा अब सबै मधेसीले बुझिसके । त्यसैले राजपा चुनावमा नजाँदा कांग्रेसलाई लाभभन्दा पनि हानी हुने देख्छु । त्यसैले कांग्रेस जसरी पनि राजपालाई चुनावमा लैजानुपर्ने बाध्यात्मक अवस्थामा छ । त्यसैले ऊ फकाउनमा व्यस्त छ । साभार


--
Ombudsman, Human Rights Defenders & Radio Journalist From Rural area at Nepal.

Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

राजीनामा दिनुकाे प्रष्टिकरण

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी